Tuesday, July 28

चितवन–२ का मतदाताले गरे रविलाई प्रश्न, जेलबाट कैदी निकाल्ने कार्यको नेतृत्व तपाईँले गरेको हो ?

काठमाडौं । चुनावी घरदैलो अभियानका क्रममा चितवन– २ पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई त्यहाँका मतदाताले गत भदौ २४ गते जेलबाट निस्किएको विषयलाई लिएर प्रश्न गरेका छन् ।

चितवनका एक मतदाताले लामिछानेलाई जेलबाट कैदीबन्दी निकाल्न तपाईँले नै नेतृत्व गर्नुभएको हो ? भन्ने गरे । यसको जवाफमा उनले जेलभित्र बसेको मान्छेलाई जबरजस्ती ‘जा’ भनेर पत्र थमाएपछि के गर्ने ? भन्दै प्रतिप्रश्न गरेका छन् ।

सहकारी ठगीसम्बन्धी मुद्दामा नख्खु कारागारमा रहेका रास्वपाका पार्टी अध्यक्ष रवि लामिछाने गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा निस्किएका थिए ।

घरदैलो कार्यक्रममा सोमबार चितवन–२ पुगेका लामिछानेलाई त्याँका एक मतदाताले प्रश्न गरे, ‘जेनजी आन्दोलनका क्रममा धेरै कैदीबन्दीहरू जेलबाट निस्किए । तपाईं पनि निस्किनुभयो । तपाईँले नै कैदी निकाल्ने कार्यको नेतृत्व गर्नुभएको भन्ने चर्चा छ, त्यो कति सत्य हो ?’

त्यसको जवाफमा रविले भने,
२४ गतेको घटनालाई लिएर सबैभन्दा पहिले छानबिन आयोगमा जवाफ दिन गएको म हो । म जेलभित्र बसेको मान्छेलाई आयोगले बोलाएपछि गएर सबै बताए । मेरो बयानपछि जाँचबुझ आयोगका अध्यक्षले यसमा रवि लामिछानेको गल्ती रहेनछ भनेर अन्तर्वार्तामा बोल्नुभएको मैले जेलभित्रै हेरेँ । मेरो के पहुँच थियो र ? जेलभित्र ५-६ वटा फलामे ढोकाभित्र बसेको थिएँ । तर, पनि दोष मेरो टाउकोमा हालेकाले बयान दिएँ । छानबिनको रिपोर्ट आउला । अध्यक्षले रवि लामिछाने दोषी होइन रहेछन् भनिसक्नुभयो । जेलरले पनि उहाँले त जेल जोगाएको हो भनेर बोल्नुभएको रहेछ । मभन्दा एक किलोमिटर पर बसेका नेतालाई हेलिकप्टरबाट भगाइयो । उनीहरू असुरक्षित भएर भागे, म सुरक्षित स्थानबाट लखेटिएँ । जेलभित्र बसेको मान्छेलाई जबरजस्ती ‘जा’ भनेर पत्र थमाएपछि के गर्ने ? मलाई बाहिर आगो लगाइरहेको भीडमा पठाइयो । जेलभित्र बसेको मान्छेको कैदी भगाउने क्षमता हुन्छ कि हुँदैन होला ? विना आग्रह-पूर्वाग्रह मैले हजुरकै विवेकमा छोडिदिएँ ।’