Sunday, September 13

बेनीदेखि दिल्लीसम्म बस सेवा सुरु

२१ माघ,म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्लीसम्म बस सेवाको सुरुवात भएको छ।मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आज बुधबारदेखि देखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ,भैरहवा,अयोध्या,आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बस सेवाको शुभारम्भ गरेका छन्।

“बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ”,उनले भने,“बेनीदेखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ।” बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर कायम भएको छ ।

४५ जनाको बसको क्षमता रहेको छ।बेनी–दिल्लीको दूरी १४ सय किलोमिटर छ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् ।यसअघि म्याग्दीबाट भारत जान पोखरा पुगेर गाडी चढ्नुपर्ने हुन्थ्यो ।

बेनी नगरपालिकाका प्रमुख केसीले दिल्लीसँग म्याग्दीको यातायात सम्पर्क स्थापना भएपछि पर्यटक विकासमा पनि सहयोग पुग्ने जिकिर गरेका छन्।म्याग्दीको गलेश्वरधाम,पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई बस सेवाबाट सहज हुने

सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपाल–भारतमैत्री बस सेवा कार्यक्रमअन्तर्गत दिल्लीदेखि कालीगण्डकी कोरिडोरको सडक भएर म्याग्दी हुँदै चीनको सिमानामा रहेको कोरला नाकासम्म यातायात सञ्चालनका लागि पहल गरिएको पनि स्पष्ट पारेका छन्।

मुस्ताङको मुक्तिनाथ मन्दिरमा वार्षिक एक लाख जनाभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन्। म्याग्दीबाट रोजगार,शिक्षा, उपचारसहित अन्य विभिन्न कामले भारत जाने यात्रुलाई यसले थप राहत मिल्ने भएको छ ।