१० माघ,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान छेउको जग्गामा ‘रेल्वे म्युजियम’ निर्माणको प्रारम्भिक चरणका काम अघि बढाएको छ । सोही अवसरमा उक्त क्षेत्रमा रहेका रेल्वेका पुराना संरचना,झाडी,अनावश्यक रुख तथा फोहर हटाउँदै सरसफाइ कार्यक्रम गरिएको छ ।
महानगरको गत असार ९ गते सम्पन्न १३ औँ नगरसभामा नगरप्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको चालू आर्थिक वर्ष ०८२÷८३ को नीति तथा कार्यक्रममा ‘रेलवे म्युजियम’ निर्माणको घोषणा गरेका थिए ।
उनले वीरगञ्जबाटै नेपालमा पहिलोपटक रक्सौल–अमलेखगञ्ज रेल सेवा सुरु भएको भन्दै रेल सेवा स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचना,सामग्री तथा ऐतिहासिक सम्पदालाई संरक्षण र पुनः प्रयोग गरी ‘रेल्वे म्युजियम’ निर्माण गरिने बताएका थिए ।
कार्यक्रम नगरप्रमुख सिंहले ‘रेलवे म्युजियम’ वीरगञ्जको पहिचानसँग जोडिएको महत्वपूर्ण परियोजना भएको बताएका छन् । नेपालमा रेल सेवाको सुरुवात वीरगञ्जबाट भएको ऐतिहासिक तथ्यलाई भावी पुस्तासम्म पुर्याउन रेल्वे म्युजियम आवश्यक रहेको उनको भनाई छ ।
