Wednesday, June 3

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबारको सीमा घटायौं : अर्थमन्त्री

१० माघ,काठमाडौं।अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको बताए ।

 कालो धनलाई सेतो बनाउने माध्यमको रूपमा ती निकायहरू प्रयोग भइरहेको भन्दै उनले अपारदर्शी कारोवारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको स्पष्ट पारे।

बैंक तथा वित्तीय संस्थाहरूले राम्रै काम गरेको भएपनि अझै सावधान हुनुपर्ने उनको भनाइ छ ।

फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतिर र फिजिकल बैंकिङ एक्सेसबाट भर्चुअल बैंकिङ एक्सेसतिर जानुपर्ने आवश्यकता रहेको पनि उनले बताएका छन् । 

धितोमा आधारित कर्जाको सट्टामा उद्यमशीलतामा आधारित,क्षमतामा आधारित,आय आर्जन गर्ने क्षमतामा आधारित विधिबाट लगानी गर्न सक्ने अवस्थाका लागि राष्ट्र बैंकसंग अर्थमन्त्रालयले छलफल गरिरहेको पनि उनले बताए ।

 वित्तीय क्षेत्र त्यति कमजोर नरहेपनि पनि विभिन्न  समस्या आउनु स्वभाविक भएको उनको टिप्पणी छ ।