Wednesday, June 3

काठमाडौं–ल्हासा पुनः बस सञ्चालन सहमति

१० माघ,काठमाडौं । नेपाल–चीन वाणिज्य सचिव स्तरीय बैठकले काठमाडौं–ल्हासा पुनः बस सेवा सञ्चालन गर्ने सहमित गरेको छ ।

बैठकले पूर्वाधार निर्माणलाई गति दिने सहमति पनि गरेको छ ।हालै चीनको ल्हासामा सम्पन्न तेस्रो वाणिज्य सचिव स्तरीय बैठकमा द्विपक्षीय व्यापार,लगानी,पारवहन,भन्सार सहजीकरण,प्राविधिक सहकार्य र व्यापार पूर्वाधार विकास सम्बन्धी विविध विषयमा बृहत छलफल भएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले गरेका थिए ।चीनियाँ प्रतिनिधिमण्डलको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष चाओ पेङले गरेका थिए ।

नेपाली प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंक, ल्हासास्थित नेपाली महावाणिज्यदूतावास, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी थिए ।

चिनियाँ प्रतिनिधिमण्डलमा सिजाङ स्वायत्त क्षेत्रका वाणिज्य विभाग, वैदेशिक मामिला कार्यालय, चिनियाँ भन्सार तथा अन्य सरकारी निकायका वरिष्ठ अधिकारीहरू सहभागि थिए ।

दुवै पक्षबीच यस संयन्त्रको आगामी चौथो बैठक आपसी सहमतिमा मिति तय गरी सन् २०२७ मा नेपालमा आयोजना गर्ने सहमति भएको छ ।