Wednesday, June 3

देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए : निर्वाचन आयोग

९ माघ,काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले आज शुक्रबार पत्रकार सम्मेलन गरेर विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो।

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।१० गते समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगको भनाइ छ।

प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको छ।

आयोगका अनुसार आज बेलुका ४ बजेदेखि ७ बजेसम्म ती कार्यालयमा दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिदैं छ।

उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको आयोगको दाबी छ।