Wednesday, June 3

बुढानीलकण्ठमा नगर शिक्षक सम्मेलन सम्पन्न,शिक्षा सुधारका लागि प्रतिबद्धता, शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा

 मनिषा गुरुङ

२४ पुस,काठमाडौं । शिक्षा सुधारका लागि प्रतिबद्धता,शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा गर्दै
बुढानीलकण्ठ नगरपालिकाले बुधबार नगर शिक्षक सम्मेलन सम्पन्न गरेको छ।

सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शिक्षा क्षेत्र नगरको दीर्घकालीन विकासको मेरुदण्ड भएको बताए।सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य गरि गुणस्तरीय शिक्षा र सुशासन तथा पारदर्शिता अनिवार्य रहेको उनको तर्क थियो।

मेयर अधिकारीले शिक्षकहरूको भूमिका केवल पाठ्यक्रममा सीमित नभइकन विद्यार्थीको चरित्र निर्माण र समाज रूपान्तरणमा केन्द्रित हुनुपर्ने भन्दै नगरपालिकाले शिक्षा सुधारका लागि आवश्यक नीति,स्रोत तथा सााधनका साथमा उचित वातावरण तयार गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

कार्यक्रममा उप–मेयर अनिता लामाले शिक्षामा समान पहुँच,शिक्षकको पेशागत मर्यादा र उत्तरदायित्वलाई बलियो बनाउँदै स्थानीय तहबाट शिक्षा क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक रहेको बताइन्। शिक्षक सम्मेलनले अनुभव आदान–प्रदान र नीतिगत सुधारका लागि महत्वपूर्ण आधार तयार गरेको उनले उल्लेख गरिन्।

कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका शिक्षक तथा विद्यालयहरूलाई सम्मान गरिएको थियो।

सर्वोत्कृष्ट प्रधानाध्यापकका रुपमा हरेराम खत्री,सर्वोत्कृष्ट शिक्षकका रुपमा ,सरीता न्यौपाने लाई निवृत्त शिक्षक सम्मान प्रदान गरिएको थियो।

यस्तै एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्न सफल बालउद्धार माध्यमिक विद्यालय र यज्ञमती माध्यमिक विद्यालयलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोलाले सम्मेलन तथा छलफलको समष्तिगत समिक्षा प्रस्तुत गरेका थिए ।

समापन सत्रमा कार्यक्रमकी संयोजक एवम् सभाध्यक्ष शान्ता ढकालले सम्मेलनले शिक्षकको पेशागत क्षमता अभिवृद्धि, शैक्षिक सुशासन र नगरको समग्र शैक्षिक उन्नयनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सबै सहभागीप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् ।

सम्मेलनमा उपसचिव ललित विक्रम सिंह, सामुदायिक विद्यालय सुधार अभियन्ता अभिषेक घिमिरे, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, प्रधानाध्यापकहरू, शिक्षक, कर्मचारी तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।