Thursday, July 30

नेकपा र रास्वपाको रोइलोमा रमाउँदै अन्य

चितवन । चितवन ३ को कुरा गर्दा यहाँ स्वस्थ प्रतिष्पर्धा भएको देखिन्न । यस क्षेत्रको चर्चा उम्मेदवारी मनोनयन हुनुअघि नै सुरु भएको हो । जब २०७९ मा काठमाडौं २ बाट चुनाव जितेकी रास्वपाकी प्रखरवक्ता सोविता गौतम चितवन ३ बाट चुनाव लड्ने कुरा आयो तब नेपाली कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा तत्कालीन मेयर रेनु दाहालको पक्षमा खुलेर लागेका चर्चित युटयूबर सन्तोष देउजाले आपत्ति जनाएका थिए । सोवितालाई गलत ठाउँमा पठाउने निर्णय गर्दै रबि लामिछानेले गुनको बदलामा गरेको बैगुनलाई साइजमा ल्याउने प्रतिरोधी स्टाटस् फेसबुकमा पोष्ट गरेका थिए । रास्वपाले त्यसको भत्र्सना ग¥यो । रेनुको पक्षमात्र होइन सोही पार्टीमै रहेका मंगल प्रजाले त मञ्चमै उभिएर रेनु हारे विध्वंश हुनेसम्मको चेतावनी दिए । यसलाई माओवादी युद्धको धङ्धङी बाँकी रहेको प्रतिकृयासहित धेरैले प्रतिवाद गरे ।

मनोनयनको दिनपछि एकपछि अर्को अस्वस्थ जुहारी चलेकै छ । रास्वपाले रेनुलाई सोवितासित दाँज्न नमिल्ने जिकिर गर्दै रेनुको क्षमता स्थानीय तहमा मात्र फिट हुने, राष्ट्रिय तहमा अयोग्य हुने बताएको छ । सोको जवाफमा रेनुले विकास चाहिएका जनतालाई विकास होइन नीति चाहिन्छ भन्दै नयाँ केटाकेटी आएर मलाई सिकाउन कस्तो लाज नलागेको भन्दै आक्रोश पोखेको सुनियो । रेनुको पक्षमा खुलेकाहरुले पछिल्लो चरणमा आएर सोविताको घर यो क्षेत्रमा नभएको, काठमाडौं २ मा केही पनि गर्न नसकेर रास्वपाको उर्वरभूमि भन्ने भ्रममा यहाँ आएर जनतालाई ढाँटेको भन्नेसम्मको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा यी दुई पार्टीका समर्थकको रोइलो चलेको छ । वास्तवमा यो रोइलोले चुनावलाई अस्वस्थ प्रतिष्पर्धामा धकेलेको बुज्रुकहरुले बताएका छन् । यी दुवै गलत प्रबृत्ति हुन् । अहिलेको मतदाताको चेतनास्तरलाई मापन गर्दा जनप्रतिनिधि जोसुकै होस् विकाससँग जोडिएको हुनुपर्छ भन्ने मान्यता बोकेको पाइन्छ । आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर विकासको बाटो हुँदै नीतिनिर्माणमा योगदान पु¥याउन योग्य जनप्रतिनिधि नै प्रतिनिधिसभाको सदस्य हुनुपर्छ भन्ने यहाँका मतदाताको मान्यता हो । यस मान्यतालाई शिरोधार्य गर्न एकअर्कामा लड्ने भन्दा आप्mना मुद्दामा अगाडि बढ्ने अनुभवी नेता काँग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले जित्ने काँग्रेसको भनाइ छ । उनीहरु भनाभनमा भुल्छन्, जनताले पार्टी चिन्छन् हल्ला अरुको सुन्छन् भोट हामीलाई दिन्छन् हामीले जित्छौं काँग्रेसका कार्यकर्ताको चुनावी विश्लेषण यस्तो छ ।
मनलाग्दी स्टाटस् पोष्ट गर्ने कार्यकर्ताको हात र मनपरी बोल्ने स्वज्ञानी वा अल्पज्ञानी कार्यकर्ताको मुखमा लगाम लाउनु पर्ने नेतृत्वको जिम्मेवारी देखिन्छ, जसले गर्दा समाजमा कम्तिमा चुनावलगत्तै मिलेर बस्न सक्ने वातावरण बनोस् ।