
- नीता ढुंगेल
पार्टीको चुनाव चिन्ह राम्रो अर्थात् आफूलाई मनपर्ने हुँदैमा त्यसलाई लिएर आएका जनप्रतिनिधिहरु राम्रै हुन्छन् भन्ने चाहिँ पक्कै होइन । चुनावी चिन्हलाई लिएर गाउँघरका बुढाबुढीलाई भ्रममा पार्ने काम हुने गरेको देखिन्छ । जस्तो सूर्यभन्दा रुख राम्रो या घण्टी बढी उपयोगी । यस्ता खालका भ्रमित कुराले ७० कटेका वृद्धवृद्धा या अशिक्षित वर्गलाई भ्रममा पारेर जबर्जर्स्ती चुनाव जित्ने अभिलाशाले चुनावी प्रचार गर्ने शैली अझै पनि कायमै देखिन्छ । आफ्नो चुनावी क्षेत्रबाट उठेका व्यक्तिको सामाजिक योगदान, इतिहास, भावी रणनीति र एजेण्डाका बारेमा जानकारी लिएर सोही अनुसार आफ्नो स्वविवेकले मताधिकार प्रयोग गरौं ।
चुनावी चिन्ह रुख, सूर्य, घण्टी, कुटो कोदालो, ढुंगा माटो या मुसो भ्यागुतो जेसुकै होस् त्यो केवल एउटा चिन्ह मात्र हो त्यसले कसैको व्यक्तित्व झल्काउने अर्थात् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने होइन । अहिले चुनाव चिन्हको विषयलाई लिएर गाउँघरका बुढापाकामाथि भ्रम छर्ने काम धेरै भइरहेका छन् । कतिपय ठाउँमा अझै पनि बुढापाका र अशिक्षित वर्गमा व्यक्तिले होइन चुनाव चिन्हले प्रभाव पारेको देखिन्छ ।
अर्कोतर्र्फ पढालेखा र आफूलाई बुद्धिजीवी बर्ग भन्न रुचाउनेहरु सार्वजनिक स्थलमा बसेर व्यक्तिका कमीकमजोरी केलाउन, जनप्रतिनिधिहरुप्रति असन्तुष्टि थोपर्दै गुनासा र टिकाटिप्पणीमात्र गर्नेहरुको पनि कमी छैन । चुनावी अभियानका क्रममा कसैलाई विनाप्रमाण भ्रष्टाचारको अभियोग लगाउने र सर्वसाधारणमा झुठा भ्रम फैलाउने, व्यक्तिमाथि अनावश्यक लान्छना लगाउने अधिकार कसैलाई पनि छैन । आफ्नो सामाजिक उत्तरदायित्व र कर्तव्यप्रति शून्यचेतना भएकाहरुले नै अरुलाई यस किसिमको लान्छना लगाएको उदाहरण पनि प्रशस्तै भेटिन्छन् । आर्थिक चलखेलका लागि सबै आफ्नै हातमा भएजस्तो गरी अग्रसरता देखाउने तर सामाजिक योगदान गर्नुपर्ने बेलामा आफूसँग कुनै अधिकार नभएको भन्दै पन्छिन खोज्नेहरुको पनि कमी छैन यहाँ ।
जनप्रतिनिधि–जनप्रतिनिधिहरुबीच पनि एक–अर्काप्रति विरोधको स्टन्टबाजी गर्ने एकाथरि सामाजिक सञ्जालबाट ठूला भएकाहरुको स्वार्थ र त्यसलाई पत्याइदिने अर्काथरिको हुलले राजनीति र समाजलाई धेरै धुमिल बनाएको छ । त्यसैले चुनावी प्रतिबद्धतापत्र, घोषणापत्र, वाचापत्र या प्रतिज्ञापत्र जेसुकै किन नहोस् आजको बोली भोली फेल नखाओस् त्यसतर्फ जनप्रतिनिधिको ध्यान पुग्न जरुरी छ ।
आफ्नो पार्टीको व्यक्ति जुनै पनि अवस्थामा ठीक भन्ने चाहिँ हुँदैन । आफू जुनसुकै पार्टीमा आवद्ध भए पनि आफ्नो क्षेत्रको जनप्रतिनिधि कस्तो हो ? भन्ने कुरामा सजग हुनु जरुरी हुन्छ । उसले विगतमा गरेका सामाजिक कार्यको लेखाजोखा गरी आफ्नो मताधिकार प्रयोग गरौं । यदि फरक पार्टीको सही व्यक्ति तपाईंको क्षेत्रबाट उठ्नुभएको छ भने निर्धक्क भएर आफ्नो अमूल्य मत उसैलाई दिई पार्टी होइन, सक्षम व्यक्तिलाई समर्थन गरौं । आफ्नो पार्टीमा छउञ्जेल त्यहीँ व्यक्ति महान लाग्ने अनि उसले पार्टी परिवर्तन गर्नासाथ त्यही व्यक्ति खराब लाग्ने परिपाटीको अन्त्य गरौं ।
त्यस्तै, जनप्रतिनिधिले पनि बहुदलीय व्यवस्था अंगिकार गर्दै आमनिर्वाचनमा भाग लिएपछि स्वस्थ प्रतिष्पर्धा स्वीकार्दै आफूले गरेका, गर्न पर्ने र गर्नसक्ने काम भनेर जनतालाई आकर्षित गर्नु र विश्वस्त तुल्याउनु पर्छ । अरुलाई गाली गर्दैमा, अरुका कमीकमजोरीमात्र देखाउँदैमा या चर्कोस्वरमा भाषण गर्दैमा र ठूला ठूला सपना देखाउँदैमा कसैले पनि आफ्नो अमूल्य मत दिनुहुँदैन ।
फागुन २१ को निर्वाचनमा मतदाताले कसैको डर, कर, धम्की अथवा चुनावी चिन्हकै कारण जबर्जजस्ती इच्छा नलागी नलागी मत दिने होइन, आफ्नो क्षेत्रमा उठेका उम्मेदवारको विगतका काम कर्तव्य तथा सामाजिक उत्तरदायित्व एवम् पार्टीको इतिहास, दृष्टिकोण, व्यवहार र क्षमतालाई राम्रोसँग बुझेर मात्र स्वविवेकको मताधिकार प्रयोग गर्नुपर्ने देखिएको छ ।
आगामी निर्वाचनमा पार्टी होइन व्यक्ति रोजौं, चिन्ह होइन, स्वविवेक खोजौं र आफ्नो मताधिकारको सदुपयोग गरौं ।
