
काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबैलाई दत्तचित्त भएर काम गर्न निर्देशन दिएकी छन् । शुक्रबार विहान नेपाली सेनाको हेलिकोप्टरमार्फत् मुस्ताङ पुगेकी प्रधानमन्त्री शुशीला कार्कीले निर्वाचनलाई सफल बनाउन सबैले दत्तचित्त भएर काम गर्नुपर्ने बताएकी हुन् ।
आज विहान मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन पश्चत्, मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन समेत गरेकी छन् ।
मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको समयमा प्रधानमन्त्री कार्कीले आज मुस्ताङको भ्रमण गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्र्न निर्देशन दिनुभएको छ ।
जोमसोमस्थित इन्द्र बक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिएकी छन्। उनले भनिन्, “निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला ।”
प्रधानमन्त्री कार्कीले २१ फागुनमा मुलुकभर एकैपटक चुनाव हुने बताउँदै आइरहेकी छन् ।
