Wednesday, June 3

एचपिभी खोप सुरक्षित छ,निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री सुधा गौतम

मनिषा गुरुङ

२५ माघ,काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभी) खोप अभियानको भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिँदै खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गरेकी छन् ।

उनले ३० वर्ष भन्दामाथि सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउन समेत अनुरोध गरेकी छन् ।

“पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो।उक्त भाइरसविरुद्धको खोपबाट यो रोग रोकथाम गर्न सकिन्छ”, मन्त्री डा. गौतमले भिडियो सन्देशमार्फत भनेकी छन् ।

पाठेघरको मुखको क्यान्सरलाई नेपालमा निवारण गर्ने उद्देश्यले गत वर्षदेखि एचपिभी खोपलाई नियमित अभियान अन्तर्गत सञ्चालन गर्दै आइएको पनि उनले जानकारी गराएकी छन् ।

यस्तै गत वर्षको खोप अभियानमा छुटेका किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई पनि खोप लगाइने भएको छ।

मन्त्री गौतमले खोप सुरक्षित र महिलाको जीवन रक्षा गर्ने भएकाले सबैले लगाउनुपर्ने आवश्यकता औंल्याउँदै आफ्ना बालिकालाई खोप लगाउन अभिभावकले पनि प्रोत्साहन गर्नुपर्ने बताएकी छन्।

सरकारले आगामी फागुन १५ सम्म देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध यो अधियान चलाएको हो ।

नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ भने चार जनाको ज्यान जाने गरेको मन्त्रालयको तथ्यांक छ।