Wednesday, June 3

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा, एक्युआई १७५ पुग्यो

२५ माघ,काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको हो।

काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ। विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ।

वातावरण विभागका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो।

औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना,२०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ।

यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने,सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने,बालबालिका,ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ।

राष्ट्रिय वातावरण नीति,२०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल,वायु,माटो,ध्वनि,विद्युत्–चुम्बकीय तरङ्ग,रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ।

साथै प्रमुख सहर,औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने भएको छ।