१८माघ,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको तयारी व्यवस्थापनका लागि वडा तहसम्मका व्यक्तिहरुलाई संलग्न गराउन निर्देशन दिएका छन् ।
शनिबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमन गर्दै गृहमन्त्री अर्यालले प्रतिनिधिसभा निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न निर्देशन दिएका हुन् ।
स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा,२०८२’ लाई कार्यान्वयन गर्न उनले निर्देशन दिए।
अवधारणा अनुसार स्थानीय तहका वडाध्यक्ष एवम् वडास्तरमा रहेका राजनीतिक दलमा आवद्ध पदाधिकारी,व्यक्ति, स्थानीय प्रबुद्ध व्यक्ति एवं आम मतदाताबाट सहयोग लिने उल्लेख छ ।
गृहसचिव राजकुमार श्रेष्ठ र मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेसहित काभ्रे आएका गृहमन्त्री अर्यालले वर्तमान सरकारको कोही कसैप्रति झुकाव नभएको भन्दै निर्वाचनलाई स्वच्छ,निष्पक्ष र मर्यादित बनाउनुपर्ने बताए।
