Wednesday, September 16

स्वस्थानी व्रत कथा समापन गरिँदै

१८ माघ,काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिदैछ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।त्यस दिनदेखि स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबिच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने गरिएको थियो।

विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी,१०८ पान,१०८,  १०८ फलफूल,१०८ अक्षता विभिन्न थरिका फूल,धुप,बत्ती,नैवेद्य,श्रीखण्ड,रक्तचन्दन,सिन्दूर, वस्त्र,भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिन्छन् र चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई,पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगेर बगाइदिने चलन छ ।

यो ब्रतमा रातमा जाग्राम बसिन्छ र जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । 

 देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएको भए पुनर्मिलन हुने,रोगव्याधी ठिक हुने र पति वा पत्नीका रूपमा इच्छाएको व्यक्ति प्राप्त हुने कथासमेत प्रचलित छ।सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ।व्रतपछि बिछोडमा परेका नागनागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ।

यस्तै गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिदैछ।स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ।