१२ माघ,काठमाडौंं। मिथ्या सूचनाविरुद्ध आयोजित काठमाडौं सम्मेलन सम्पन्न भएको छ । मानिसहरुमा मिडिया साक्षरताको कमिका कारण मिथ्या सूचना बढिरहेको सम्मेलनको निष्कर्ष छ ।
साथै सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन हल्लाको पछि नलागेर सत्य तथ्यलाई आधार मानेर सूचना तथा सूचना जन्य समाचार सामाग्रीहरु मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर(नेपाल) ले काठमाडौंमा आयोजना गरेको सो सम्मेलनमा विज्ञ तथा अध्येयताहरुले प्रविधिमा भएको सहज पहुँचले मिथ्या सूचनाको बाढी नै आएको र यसलाई रोक्नु पर्ने आवश्यकता औंल्याएका छन्।
मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको भन्दै उनीहरुले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नु सूचना साक्षरता बढाउनु पर्ने आवश्यकता पनि औल्याएका छन।
युनेस्कोका नेपाल प्रतिनिधि याको डू टोइटले सही सूचना लोकतन्त्रको मुख्य आधार भएको उल्लेख गर्दै प्रविधिको सहजताले मिथ्या सूचना निकै छिटो फैलिएको बताएका छन।
उनले मिथ्या सूचनालाई न्यूनीकरण गर्न सूचनाको हक र सही सूचनाको पूर्वप्रवाहमा सरोकारवाला सबै एकठाउँमा उभिनु पर्ने र सरकार,प्रविधि, लोकतान्त्रिक शक्ति,नागरिक समाज,मिडिया, प्राज्ञिक क्षेत्र लगायत पारदर्शी र जवाफदेही हुनु पर्ने धारणा व्यक्त गरेका थिए ।
आइतबार सम्पन्न सम्मेलनमा मिथ्या सूचनाविरुद्ध लड्न पत्रकारिता शिक्षा,मिडियाका भूमिका र मिथ्या सूचनाविरुद्धका कार्यक्रम विषयमा तीनवटा सत्रसहित सोसल मिडिया प्लेटफर्म नियमन र जलवायु परिवर्तनका विषयमा पनि प्यानल छलफल गरिएको थियो ।
मिथ्या सूचनाविरुद्ध पत्रकारिता र मिडिया शिक्षाको भूमिकाबारेका सत्रमा छलफल भएको थियो ।
उक्त दुई दिने सम्मेलनमा मिडिया,सोसल मिडिया र मिडिया साक्षरतासम्बन्धी एक दर्जन अनुसन्धान प्रस्तुत गरिएको थियो । विज्ञ, नीति निर्माता, पत्रकार लगायतबीच विषयगत छलफल गरिएको थियो ।
सम्मेलनमा दुई दिन गरी २०० भन्दा बढीको सहभागिता रहेको आयोजकले बताए।
