२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको छ । नयाँ वानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा भेला सुरु भएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि २ दिन काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाएका छन् । त्यो विशेष महाधिवेशनलाई पार्टी केन्द्रीय कार्यालयले विधान विपरीत भएको भन्दै कार्यसम्पादन समितिबाट निर्णय गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई उपस्थित नहुन भनेको छ ।
संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलामा केन्द्रीय सदस्यहरू रमा पौड्याल कोइराला, गोमा भट्टराई, सुशीला ढकाल आचार्य, शिव हुमागाई, लक्ष्मी खतिवडा, कृष्णकिशोर घिमिरे सहभागी छन् ।त्यस्तै, जीतजंग बस्नेत, सिता देवकोटा, शारदा पौडेल, सिता राना, रुपा विश्वकर्मा, बालकृष्ण खाण, गुरु बराल, मानबहादुर नेपालीसहितका केन्द्रीय सदस्यहरू सहभागी छन् ।
पार्टीका नियमित महाधिवेशन र विशेष महाधिवेशन के गर्ने भन्ने विषयमा विवाद चरमोत्कर्षमा पुगेको बेलामा संस्थापन पक्षीय सदस्यहरू भेला भएका हुन् ।
