Wednesday, June 3

पार्टीको हरेक संरचनामा ४० वर्षमुनिका युवालाई ४० प्रतिशत प्रतिनिधित्व गराउन माग

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्र सबै तहका पार्टी संरचनामा कम्तीमा ४० वर्षमुनिका युवाहरूले ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग भएको छ ।झापाका ४० मुनिका पार्टी राजनीतिमा आबद्ध युवाहरूले मंगलबार भेला गर्दै दबाब दिएका छन् ।

झापाको सो भेलाले अवधारणा पत्र नै पारित गरेको छ । मिलन चापागाईंको संयोजनमा पार्टी संरचना र राज्य सञ्चालनमा युवाको निर्णायक भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको बताइएको छ ।

अवधारणा पत्रमा पार्टीका वडा तहदेखि केन्द्रसम्म ४० प्रतिशत ४० मुनिका युवा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने मात्र होइन तीनै तहका सरकारका लागि उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्नुपर्ने उल्लेख छ ।
लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्ने, भ्रष्टाचारविरुद्ध सङ्गठित खबरदारी गर्ने, पारदर्शीता र जवाफदेहिता बढाउने तथा समसामयिक राजनीतिक विषयमा युवाहरूको साझा धारणा निर्माण गर्ने समेत अवधारणा पत्रमा समेटिएको छ ।

भेलामा समसामयिक राजनीतिक अवस्था, पार्टीभित्र देखिएका चुनौती, पुस्तान्तरणको आवश्यकता र युवाको भूमिकाबारे समेत छलफल गरिएको संयोजकले बताएका छन् ।उनका अनुसार ‘भेलाबाट पारित अवधारणा पत्र जिल्ला कार्यसमितिले केन्द्रीय कार्यसमितिलाई बुझाउने तयारी भएको र

भेलामा सहभागी युवाहरूले पार्टीलाई अझ जीवन्त, समावेशी र प्रतिस्पर्धी बनाउन युवाको सहभागिता बढाउनुको विकल्प नरहेको विषयमा साझा धारणासमेत निर्माण गरेको संयोजकब चापागाईंको भनाई छ ।