२२ पुस, काठमाडौं । माघे संक्रान्ति नजिकिंदै गर्दा काठमाडौंको टोखा क्षेत्रका उद्योगी व्यवसायीहरू चाकु बनाउन व्यस्त देखिन्छन् ।
विशेष गरि माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन रहिआएकोले यो समय त्यस क्षेत्रमा सञ्चालित चाकु उत्पादन गर्नै उद्योगहरुमा कर्मचारीहरुलाई भ्याइनभ्याइ हुने गर्दछ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यस्’ को अर्थ ‘फल्ने ठाउँ’ भन्ने बुझिन्छ । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो ।
नेवारी समुदायको बहुल्यता रहेको टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ ।
यो समयमा चाकुको माग अत्यधिक हुने गर्दा बजारसम्म पुर्याउन भ्याइनभ्याइ हुने गरेको उद्योगीहरूको भनाई छ ।

टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।
नेवार समुदायमा काजरियाको समयमा समेत चाकु खाने चलन छ । नेवारी समुदायको चर्चित परिकार यमोरीमा समेत चाकु मिसाएर बनाउने चनल पनि रहिआएको छ ।
