–रामधन राई
खोटाङ, १ चैत । सिमसिम पानी छिट्याउन थाल्यो । झम्के साँझ पर्न थाल्यो । ‘माथि–माथि हिमाली भेगमा हिउँ प¥यो फुरुरु…’ । गायिका बबिना किरातीको स्थायीसँगै दर्शकका तालीको पर्रासहितको अन्तरा एकैसाथ गुञ्जन थाले । मैदानमा दर्शकहरु झुम्मिन थाले । पटकाको बर्षा बर्षिए । गायिका/गायक लगायत संगीतप्रेमीहरुको स्वागतमा निक्कै लामो लहर चलिरह्यो ।
फागुन २९ गते अर्थात होली पर्व । सोल्मा स्पोर्टस क्लब, दिक्तेल सोल्मा अर्थात आयोजकको सोल्मास्थित खेलमैदान । माथिल्लो भेग र चिसो मौसम । रोमाञ्चक खेलका साथै होली पर्बका कारण पनि खैलमैदान तथा आसपासका क्षेत्र रंगिन यसै थियो । सद्भावको रंगमा रंगिएका मान्छेहरु बबिना किरातीको गायकीमा झनै रङ्मगिएका थिए । समापनमा बिशेष आकर्षण थियो बिशेष सांगीतिक प्रस्तुति ।
साँझ हुर्कंदै जाँदा मञ्च सामुन्ने भीड बाक्लिँदै गयो । सिमसिम बर्षा हुन थाले पनि कसैलाई पर्वाह थिएन । अन्ततः गायन र उल्लासको दबदवाबीच बर्षा रोकियो । गायिका बबिनाले एकपछि अर्को प्रस्तुति दिँदै जाँदा ‘वान्स मोर अफर आईरह्यो ।’ किरातीले पनि दर्शकको इच्छालाई सम्बोधन गर्दै प्रस्तूति गरिरहनुभयो । अन्य ठाउँमा भन्दा खोटाङमा मायाँ पाएको खुलेरै बताउनुभयो । गायिका किरातीले आफुलाई स्थापित गर्ने गीतको श्रेय सर्जक डीआर‘अटु’ लगायत, जिल्लाबासी र समग्र गीतसंगीतप्रमीलाई टक्र्याउन छुटाउनुभएन । आफ्नो भूमि जिल्ला र जिल्लाबासी शुभचिन्तकलाई दोहो¥याई–दोहो¥याई धन्यबाद दिईरहनुभयो । युवा पुस्ताकी चर्चित गायिका बबिनाले जन्मस्थान बुइपाबाटै गायन यात्रा थाल्नुभएकी थिईन् ।
गायिका किरातीले आफ्नो नयाँ गीतहरु लगायत दर्शकका चाहाना अनुरुप अन्य गायिकाहरुको चर्चित गीतहरुमार्फत खुराक पस्किरहनुभयो । जिल्लाका क्रियाशील संघ–संस्था तथा ब्यक्ति–ब्यक्तित्वबाट झनै मायाँ अर्थात उत्प्रेरणा पाईरहेको बताईरहनुभयो ।
समारोहमा ‘के मीठो छ र सख्खर चिनी’का गायक पदम राईले उत्तिकै प्रस्तूति दिनुभएको थियो । गायक राई रियालिटी सो ‘भ्वाईस अफ नेपाल’को उत्कृष्ट प्रस्तूतिबाट झनै चर्चामा आउनुभएको थियो । उसो त राई निक्कै अगाडीदेखि वा बाल्यकालदेखि नै गायनमा स्वर बसाउनुभएको प्रतिभा मानिनुुहुन्छ ।
सांगीतिक साँझमा धनिराम राई‘नछुङ’को गायन प्रस्तुतिले उत्तिकै रोमाञ्चक तुल्याएको दर्शकको प्रतिक्रिया छ । दिक्तेल निवासी नछुङ सामाजिक–साँस्कृतिक क्षेत्रमा समेत क्रियाशील रहनुभएको छ ।

कोशी प्रदेश भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई समापन कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो । समापन समारोहका बिशेष आकर्षण गायिका/गायकहरु बनेको दर्शकरुहरुको भनाई छ । फागुन–२४ मा कोशी प्रदेश सामाजिक मन्त्री पाँचकर्ण राई(पीके)ले ‘पाँचौ सोल्मा वडा कप पुरुष फुटबल प्रतियोगिता’को उद्घाटन् गर्नुभएको थियो । उद्घाटन तथा समापनका प्रमुख अतिथिद्वयले जिल्लाका खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्दता जनाउनुभएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबकै खेलमैदानमा सम्पन्न प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका –७ महादेवस्थानले उपाधी कब्जा गरेको छ । १२ टिम सहभागी फाईनल खेलमा हलेसीले खोटाङ फुटबल एकेडेमी दिक्तेललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
१२ टीम सहभागी प्रतियोगिताका विजेताले नगद् १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ र उपविजेताले ७१ हजार १ सय ११ रुपैयाँसहित ट्रफिसहितको पुरस्कार प्राप्त गरेका छन् । सेमिफाइनलिष्ट दिक्तेल नग।्रपालिकाकै जालपा र वडा नम्बर दुईस्थित सोल्मा स्पोर्टस क्लब सोल्माले जनही ३५ हजार ५ सय ५५ रुपैयाँ नगद सहितका पुरस्कार प्राप्त गरेका छन् । यस्तै, समापन समारोहमा पत्रकार चिसाङ शेर्पालाई नगद पाँच हजार रुपैंयाँ राशीको खेल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
समारोहमा पूर्व निर्वाचित जनप्रतिनिधि, समाजसेवी र समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ब्यक्तिहरुलाई सम्मान गर्दै आएको क्लबका अध्यक्ष ध्रुबबिक्रम राईले बताउनुभयो । समारोहमा प्रतियोगिता आयोजनार्थ सहयोगदाताहरुलाई पनि सम्मान गरिएको अध्यक्ष राईले उल्लेख गर्नुभयो । जिल्ला फुटबल संघका अध्यक्ष तथा नेपाल फुटबल संघ(एन्फा)मा समेत सम्बन्धित राईले फुटबल तथा अन्य खेल लगायत अन्य क्षेत्रमा योगदान दिने ब्यक्तिहरुलाई सम्मान गर्दै जाने जनाउनुभयो । फुटबल संघका जिल्ला अध्यक्ष समेत रहनुभएको राईले जिल्ला फुटबल संघलाई नेपाल फुटबल संघ(एन्फा)मा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको खेलाडीहरु बताउँछन् ।
प्रतियोगिताका औपचारिक कार्यक्रममा कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष तथा केपीलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिशन राई, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न फुटबल संघका अध्यक्ष तथा पदाधिकारी लगायत सम्बद्द खेलाडी लगायतको उपस्थिति थियो ।।
