Friday, June 5

जग्गाधनीले मुआब्जा नपाए जलविद्युत आयोजना नै बन्द गर्ने सङ्घर्ष समितिको चेतावनी

खोटाङ, १ चैत । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले जलविद्युत आयोजना सञ्चालन गर्ने हाइड्रोपावर कम्पनीले आफूहरुको जमिन उपयोग गरेबापत मुआव्जा नपाएको गुनासो गरेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, सोही गाउँपालिकाको वडा नं.–६ दिप्सुङ र वडा नं.–७ सुङ्देलका स्थानीयले रावाखोलामा जलविद्युत आयोजना सञ्चालन गर्ने तीनवटा हाइड्रोपावर कम्पनीबाट मुआव्जा नपाएको गुनासो गरेका हुन् ।

रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी उर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्टले फरक–फरक तीनवटा ठाउँमा जलविद्युत आयोजना सञ्चालन गरेको छ । सुङ्देल र दिप्सुङको सीमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत वि.सं. २०७७ भदौ–१६ गते नेशनल ग्रिडमा जोडिएको थियो ।

जलविद्युत आयोजनाको ट्रान्समिसन र पाइपलाईन विस्तारका क्रममा प्रयोग गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति स्थानीयवासीले हालसम्म पनि पाउन नसकेपछि चरणवद्ध आन्दोलन शुरु गरिएको निजी तथा सार्वजनिक सम्पत्ती संरक्षण सङ्घर्ष समिति केपिलासगढी गाउँपालिकाका संयोजक माइतीराज राईले बताउनुभएको छ । “रावाखोलामा सञ्चालित तीनवटै जलविद्युत आयोजनाको कम्पनीले जग्गाधनीहरुलाई क्षतिपूर्ति दिएको छैन । उनीहरुले स्थानीय जनतालाई ठगी गरेको छ”, उहाँले भन्नुभयो, “जनता ठगीमा परेको विषयमा स्थानीय सरकारलाई समेत जानकारी गराएका छौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । यही चैत–३ गतेभित्र जग्गाधनीहरुलाई मुआब्जा नदिएको खण्डमा चैत–४ गतेबाट आयोजनाको काम नै बन्द गर्छौँ ।”

निर्माणाधीन जलविद्युत आयोजनाको ट्रान्समिसनलाईनले बाक्सिलाका ३८ जनासहित ४९ जनाको जग्गा प्रयोग गरेको छ । जलविद्युतको पोल र तार टाँग्ने क्रममा स्थानीयको करिब पाँच हजार २०० मिटर जग्गाको प्रयोग भएको सङ्घर्ष समितिले जानकारी दिएको छ ।

यस्तै, पाइपलाईन विस्तारका क्रममा सुङ्देलका २४ जना, बाक्सिलाका दुई जना र दिप्सुङका १ जनाको ३८ कित्ता जग्गा प्रयोग गरिएको छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युतको काम सम्पन्न भएपछि मुआब्जा दिने भन्दै ट्रान्समिसनको काम गरेको तर, हालसम्म पनि मुआव्जा नदिएको जग्गा धनीको गुनासो छ ।

रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युतको काम सकिएपछि सबै जग्गाधनीलाई क्षतिपूर्ति दिने र क्षति पुगेको जग्गा कम्पनीको नाममा सार्नेगरि पाइपलाईनको काम शुरु गरेको थियो । तर, हालसम्म सो सहमति कार्यन्वयन नभएको सङ्घर्ष समितिका संयोजक राईले बताउनुभएको छ ।

यस्तै, रावा इनर्जी डेभलपमेन्ट प्रा.लि.ले खोलामा दश प्रतिशत पानी नछाडेको सङ्घर्ष समितिले जनाएको छ । २.५ मेगावाटको विद्युत उत्पादनको तयारी गरेको हलेसी उर्जा कम्पनी लिमिटेडले सर्वोच्चको आदेश विपरित कृष्णमायाँ खत्रीको जग्गामा पाइपलाईनको काम गरिरहेको पाइएको छ ।

निर्माणाधीन अवस्थामा रहेको हलेसी उर्जा कम्पनी लिमिटेडले विद्युत उत्पादनको प्रकृया पूरा नगरी छ कित्तामा रहेको ३८४ रोपनी सरकारी जग्गा प्रयोग गरेको सङ्घर्ष समितिले जनाएको छ । हलेसी उर्जाले सुङ्देलमा जलाशय र बाक्सिलामा पावर हाउस बनाएर विद्युत उत्पादन गर्ने तयारी गरेको छ ।

सङ्घर्ष समितिले गत फागुन–२७ गते जग्गाधनीलाई जग्गाको मुआव्जा तथा क्षतिपूर्ति दिनका लागि रावा इनर्जी डेभलपमेन्ट प्रालि र हलेसी उर्जा कम्पनी लिमिटेडको ध्यानाकर्षण गराएको थियो । गाउँपालिकाका सातवटै वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जग्गाधनीसहित बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार सङ्घर्ष समितिले हाइड्रोपावर कम्पनीसँग जग्गाधनीकोतर्फबाट माग राखेको हो ।

सर्वपक्षीय भेलामा जग्गा धनीले ट्रान्समिसन लाइन विस्तार गर्नेक्रममा जलविद्युत आयोजना प्रयोग गरेको जग्गाको प्रतिमिटर रु पाँच हजारका दरले क्षतिपूर्ति दाबी गर्ने निर्णय गरेको छ । यही चैत–३ गतेसम्ममा आफूहरुको माग सम्बोधन नभए चैत–४ गतेबाट जलविद्युत आयोजनाको काम नै बन्द गराउने सङ्घर्ष समितिले चेतावनी दिएको छ ।