किसानको खेतबारीमा बाढीले थुपारेको गेगर हटाउँदै हलेसी तुवाचुङ नगरपालिका
खोटाङ, १३ माघ । हलेसी तुवाचुङ नगरपालिकाले गत असोज–१२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानको खेतबारीमा थुपारेको गेगर पन्छाउने काम शुरु गरेको छ । पाकेर थन्क्याउने समयको अन्नबाली नष्ट गर्दै किसानको खेतबारीमा बाढीले थुपारेको बालुवा, गिटी र ढुङ्गा हटाएर पुनः खेती गर्न योग्य जमिन बनाउन नगरपालिकाले जेसिबी प्रयोग गरेर पन्छाउन शुरु गरेको हो ।
सुनकोशीमा आएको भीषण बाढीले हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. २ डिकुवा, वडा नं. ८ धितुङ र वडा नं. ११ राजापानीका करिब १५० घरधुरी स्थानीय किसानको करिब २५० रोपनीभन्दा बढी खेतबारी खण्डहर बनाएको छ । धितुङ र राजापानीको सिमानामा पर्ने भाडबेँसीका मात्रै ६० घर किसानको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले ल्याएको गेगरले पुरिएको स्थानीयले बताएका छन् ।
भीषण बाढीका कारण पूर्ण क्षति बेहोरेका राजापानीका ३१ घर किसानलाई गत असोजमै नगरपालिकाले रु सात हजारको दरले राहत प्...
