Tuesday, July 28

तनहुँ १ मा स्वतन्त्र उम्मेदवारसहित दर्जनौँ युवा कांग्रेसमा प्रवेश

तनहुँ । तनहुँ १ मा स्वतन्त्र उम्मेदवारसहित दजनौं युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । चुनावी सरगर्मी बढिरहेका बेला त्यहाँका स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी त्याग गरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेपश्चात् त्यहाँका दर्जनौं युवाहरू काँग्रेसमा प्रवेश गरेका हुन् ।

तनहुँ १ मा सन्देश लौडारीको नेतृत्वमा करिब दुई सयभन्दा बढी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ। कुनै पनि किसिमको अवसरवादको पछि नलागी इमानदार नेतालाई सहयोग गर्नु नै आजको आवश्यकता रहेको महसुस गर्दै आफू कांग्रेसमा प्रवेश गरेको लौडारीले स्पष्ट पारेका छन् । उनले भट्टराईको जीत सुनिश्चित गर्न आफ्नो समूहको करिब एक हजार ६ सय मत पूर्ण रूपमा सहयोग हुने दाबीसमेत गरे।

काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले नवप्रवेशी युवाहरूलाई स्वागत गरेका छन् । सो अवसरमा उनले आफू नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदाको समय स्मरण गर्दै आफू सधैँ युवा पुस्ताको भावना बुझ्ने र उनीहरूकै प्रतिनिधित्व गर्ने नेता भएको बताए । उनले वर्तमान सभापति गगन थापा युवा हुँदा नै आफूले नेविसंघको टिकट दिएर राजनीतिमा अगाडि बढाएको प्रसङ्ग उल्लेख गर्दै युवाहरूलाई नेतृत्वमा ल्याउन आफ्नो सधैँ महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रही नयाँ पुस्ताको मुख्य माग सुशासन, भ्रष्टाचारको अन्त्य र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु रहेको र त्यसलाई नै आफूले प्रमुख प्राथमिकतामा राखेको प्रतिबद्धता व्यक्त गर्दै भट्टराईले भने, ‘हिजोदेखि नै जेनजी युवाको मागलाई उठाउँदै सङ्घर्षको मैदानमा लड्दै आएको छु, तपाईंहरुको विश्वासलाई गुम्न तनहुँको विकासको लागि युवासँगै हातेमालो गरी अघि बढ्ने छु ।’