
चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनाको लागि चितवनमा १० फिट अग्लो तारजाली लगाइएको छ । मगतगणना स्थल व्यवस्थित र सुरक्षित बनाउनका लागि यसरी तारजाली लगाइएको हो ।
चितवनको तीनवटै निर्वाचन क्षेत्रमा मतपत्र जोगाउनको लागि १० फिट अग्लो तारजाली लगाएर मतगणनालाई व्यवस्थित गर्न लागिएको चितवनका मुख्य निर्वाचन अधिकृत न्यायाधीश केदार पौडेलले बताए ।
चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा भुवानीशंकर कलेज खैरहनी, क्षेत्र नम्बर २ मा उद्योग संघ चितवनको प्रदर्शनी स्थल, निर्वाचन क्षेत्र नम्बर ३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणना स्थल तोकिएको छ । मुुख्य निर्वाचन अधिकृत पौडेलका अनुुसार मतपत्र जोगाउन समस्या नहुने गरेर मतगणनाको व्यवस्थापन गरिएको हो । बिद्युत आपूर्ति सहज बनाउन तारजालीको अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको छ भने मतगणना परिसरमा सिसीक्यामरा पनि जडान गरिएको पौडेलले जानकारी दिए ।
चितवनमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मतगणनाका क्रममा उम्मेदवारका प्रतिनिधिले मतपत्र मुखमा हालेपछि यहाँको मतगणना स्थलमा तारजाली लगाएर व्यवस्थापन गर्न थालिएको हो ।
दलका उम्मेदवारका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुले तारजाली बाहिरबाट मात्र हेर्न पाउनेछन् ।
