Tuesday, September 15

निर्वाचन सुरक्षार्थ मुगुका हिमाली भेगमा सेनाको ‘घोडा गस्ती’

काठमाडौं । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले उच्च हिमाली जिल्ला तथा दुर्गम क्षेत्रमा गस्ती तीव्र बनाएको छ ।

यसैक्रममा भौगोलिक रूपमा अत्यन्त कठिन तथा सडक सञ्जालको अभाव रहेको मुगु जिल्लाको कार्मारोङ गाउँपालिका अन्तर्गत मुगुम, डोल्फु लगायतका बस्तीहरूमा यतिबेला सेनाको उपस्थितिलाई सुदृढ पारिएको हो। निर्वाचन आउन हप्तादिन मात्र बाँकी रहेका बेला नेपाली सेनाले मुजुजस्तो दुर्गम र हिमाली विकट जिल्लामा घोडा गस्ती सुरु गरेको छ ।

रारा राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ श्री हनुमानध्वज गुल्मले निर्वाचनको मिति नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हिमाली बस्तीमा घोडा चढेर नियमित तथा विशेष गस्ती सञ्चालन गर्न थालेका छन् । श्री हनुमानध्वज गुल्मका गुुल्मपति सेनानी खड्ग बहादुर श्रेष्ठका अनुसार हालसम्म मुगु जिल्लाभित्रका सबै मतदान स्थलहरूमा सुरक्षा अवस्थाको निरीक्षण तथा गस्ती सम्पन्न भइसकेको छ। दुर्गम र पैदलमार्ग मात्र उपलब्ध क्षेत्रहरूमा समेत सुरक्षा पहुँच सुनिश्चित गर्न घोडाको प्रयोग गरी गस्ती सञ्चालन गरिएको छ।

सो क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षाको प्रत्याभूति दिलाउने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन पूर्वतयारी स्वरूप गस्ती बढाइएको सुरक्षा स्रोतले जनाएको छ। निर्वाचन अवधिभर जिल्लाका संवेदनशील तथा विकट क्षेत्रहरूमा निगरानीलाई निरन्तरता दिइने पनि बताइएको छ।