
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि विदेशबाट एकै दिन ६८ लाख रुपैयाँ संकलन भएको छ ।
उनले सामाजिक सञ्जालबाट सोमबार उपचार खर्च जुटाउन सहयोगको अपिल गरेकी थिइन् । उनले सहयोग गर्न चाहनेहरुका लागि ‘गिभ अ लिटिल’को लिंक शेयर गरेकी थिइन् । उक्त वेभसाइट मार्फत आज मध्यान्नसम्म ४७ हजार २५३ डलर रकम संकलन भएको छ । जुन आजको विनिमयदर अनुसार नेपाली ६८ लाख बरारब हुन आउन्छ ।
यता काठमाडौं मेडिकल कलेजले भने ‘साम्बा’ को उपचार निःशुल्क रूपमा गरिदिने प्रस्ताव गरेको छ ।
पछिल्ला सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहेकी साम्बाले यसअघि कतारस्थित अस्पेटार अस्पतालमा शल्यक्रिया गराएकी थिइन् । हाल राखिएको ग्राफ्ट र एमसिएलमा पुनः समस्या देखिएपछि फेरि शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको छ । उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन् ।
