Thursday, July 30

त्रिपक्षीय भिडन्तमा तीन नम्बर

भरतपुर । चितवन ३ को चुनावी माहोल तीब्र रुपमा तातेको छ । उम्मेदवार र कार्यकर्ता घरदैलो गरेका छन् । कैयन् मतदाताले अघिपछि नआउने नेताहरु चुनावमा मात्र आउने गरेको गुनासो गरेका छन् । कतिपयले यसअघि घोषणा गरेका योजनाहरु सुरु नै नगरेको भनेका छन् त कतिपयले गुनासो सुनुवाई गर्ने ठाउँ पनि नपाउँदा चित्त दुःखेको बताएका छन् । केही मतदाताले स्थानीय जनप्रतिनिधिले गर्छु भनेको काम नगरेको, अल्पत्र पारेको र राजनीतिक पक्षपात गरेको गुनासो गर्दै विश्वासको संकट देखाएका छन् ।

यसैगरी मत माग्दै घरदैलोमा पुगेका नेता कार्यकर्ताले मतदाताको आलोचनालाई पचाउन हम्मे परेको बताएका छन् । कतिपय मतदाताले भेट्न नै अनिच्छा गरेको र भेटेकाले पनि भदौ २३ र २४ को घटनाको दोषी को हो भनी प्रश्नमाथि प्रतिप्रश्न थपेर नेतालाई अवाक बनाएको जानकारी दिएका छन् । केही मतदाताले त आपूmहरु भोट दिन नै नजानेसम्मको संकेत दिएका छन् ।

यद्यपि केही मतदाताले परिवर्तित अवस्थामा विवेकको मत प्रयोग गर्न आफू उत्साहित रहेको पनि बताएका छन् । केही मतदाताले त नारा र आश्वासनमा भन्दा स्पष्ट दृष्टिकोण भएको पार्टी र योग्य लागेको उम्मेदवारलाई मत दिन म, मेरा परिवार र आफन्तलाई पनि अनुरोध गरेर चुनावी सरगर्मीमा चुर्लुम्म डुबेको छु भनेका छन् । चुनावी राजनीति केलाएका केही बुज्रुकका अनसार चुनावी हल्ला ज–जस्का बिच भए पनि चितवन ३ का प्रतिष्पर्धी तीनजना हुन् । रुख नभएर पो मत छरियो रुख भएपछि किन छर्ने भन्नेहरुले टेकप्रसाद गुरुङले जित्ने बताएका छन् । घण्टीको लहर छ अरुलाई कहर छ भन्नेले सोविता गौतमले जित्छिन् भनेका छन् । तारा बोक्नेले मेयर हुँदाको विकास देखाउँदै रेनु दाहालले जित्ने दाबी गरेका छन् ।

२३ जना प्रत्याशी रहेको यस क्षेत्रमा अन्यको उपस्थितिले चर्चा कम पाए पनि धेरैका मत काटिने खतरा छ । सबैको दाबी आ–आफैले जित्ने भए पनि कस्को पासा पल्टिन्छ अहिले नै किटान गर्न न त सजिलो छ, न आचारसंहिताले दिन्छ ।