Wednesday, July 29

गाली गरेर चुनाव जित्न नखोजौं : स्वविवेकले मताधिकार प्रयोग गरौं

  • शिशिर सापकोटा

अरुबेला नेतालाई सत्तोसराप गाली गर्ने, चुनाव आएपछि आफैलाई नेता हुन मनलागेर उम्मेदवारी दिने चलन बढ्दो छ । अहिलेको चुनावमा देखिएका अनुहारमध्ये त्यस्ता उम्मेदवार धेरै नै छन् । मतदाताको घरदैलोमा हिंड्दा जनताका प्रश्न, गुनासा र क्रिया प्रतिक्रिया सुन्दा र हेर्दा नै थाहा भएहोला नेता हुन सजिलो छैन र रहेनछ । अहिलेको पुस्तालाई त अझै सजिलो छ राजनीतिक प्रतिबन्ध छैन, जेलनेल भोग्नु परेन ।

चोकचौतारामा बसेर यो भएन त्यो भएन भन्ने, अनेकथरि गुनासा र टिकाटिप्पणी गर्दै प्रमाणविना पनि भ्रष्टाचार ग¥यो भन्दै कुर्लनेको कमी छैन । अधिकारको दाबी गर्ने चेतना भएको नागरिकबाट कर्तव्यप्रति चेतनाशून्य भएको भान पारेको पनि देखिन्छ । गफ गर्नुपर्दा आफू निकै जान्ने बुझ्ने र हुनेखाने भन्न भ्याउने तर योगदान गर्नुपर्ने बेलामा आपूmजस्तो सानो मान्छेले केही गर्न नसक्ने प्रतिकृया जनाउने एक जमात मानिस नभएको समाज यो कहाँ हो र !

विरोधको नाममा विरोधको स्टन्टबाजी गर्ने एकाथरि सामाजिक सञ्जालबाट ठूला भएकाहरुको स्वार्थ र त्यसलाई पत्याइदिने अर्काथरिको हुलले राजनीति र समाजलाई धेरै धुमिल बनाएको छ । आजको बोली फेल नखाओस् भोलि भन्ने कुरामा सजग रहन जरुरी छ । आफ्नो पार्टीमा छउञ्जेल त्यहीँ व्यक्ति महान अर्को पार्टीमा गएपछि तुच्छ बनाइँदा फेरि आफ्नो पार्टीमा फर्किन चाहेर फर्किएमा महान भन्ने कि तुच्छ नै राख्ने ? अप्ठेरो पर्छ । त्यसैले बहुदलीय व्यवस्था अंगिकार गर्दै आमनिर्वाचनमा भाग लिएपछि स्वस्थ प्रतिष्पर्धा स्वीकार्दै   आफूले गरेका, गर्न पर्ने र गर्नसक्ने काम भनेर जनतालाई आकर्षित गर्नु र विश्वस्त तुल्याउनु पर्छ । बेतुुकका गाली गर्दैमा चुनाव जित्ने बेला छैन र त्यस्तालाई जनताले मत दिनु पनि हुँदैन ।

आफ्ना  परिवर्तित राजनीतिक विचार राख्ने स्वतन्त्रता छँदाछँदै प्रतिद्वन्द्वीलाई धम्कीको भाषा प्रयोग गर्दै मतदातालाई समेत डर देखाउने कार्य कायम छ । राजनीतिको आडमा अराजनीतिक मन्तव्य र सभा बिथोल्ने कार्य निर्वाचन आचारसंहिता विपरीत हो कि होइन ? यसो गर्नेलाई पनि मत नदिनु पर्छ । यसपटकको निर्वाचनमा मतदाताले कसैको करकाप र अनिच्छाले होइन, आफ्नो क्षेत्रमा उठेका उम्मेदवार तथा पार्टीको इतिहास, दृष्टिकोण, व्यवहार र क्षमतालाई रामै्रसित बुझेर स्वविवेकको मताधिकार प्रयोग गर्नुपर्ने खाँचो देखिएको छ । म नगएर के हुन्छ र भन्नुभन्दा म गइन भने मैले चाहेको राम्रो मानिस हार्न सक्छ भनेर मताधिकारको सदुपयोग गर्नु बुद्धिमानीको धर्म ठहर्छ ।