२१ माघ, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ ।
मंगलबार राति करिब पौने ११ बजेतिरबाट सुरु भएको आगो सवा १ बजेतिरसम्म दन्किरहेको थियो ।काठमाठौं महानगर,बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा निभाइएको वडा अध्यक्ष टिकानारायण श्रेष्ठले बताए ।
वडाध्यक्ष श्रेष्ठले भने, ‘आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्नु भएको थियो, उहाँहरुको २४ परिवार थियो,सबै विस्थापित हुनुभएको छ’ ।
विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न,लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ।
विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।आगलागीको क्षतिको विवरण निकाल्न बाँकी छ ।
