Wednesday, June 3

आमाको नामबाट पहिलोपटक नागरिकता

१९  माघ,सर्लाही ।सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ ।

नेपाल नागरिकता ऐन,२०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली,२०६३ को चौथो संशोधनको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो।

लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई सोमबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले अंगीकृत नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी कडरियाका अनुसार यसअघि कानुनी अस्पष्टता र प्रक्रियागत जटिलताका कारण बाबुको पहिचान नखुलेको वा बाबु विदेशी भएको अवस्थामा नागरिकता प्राप्त गर्न कठिनाइ हुँदै आएको थियो ।

तर पछिल्लो संशोधित कानुनी व्यवस्थाले आमाको नागरिकता,वडा कार्यालयको सिफारिस तथा आवश्यक कागजातका आधारमा नागरिकता प्रदान गर्ने बाटो खुलेपछि यो प्रकृया सहज भएको उनको भनाई छ।