१५ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ।
कूल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ ।
बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको छ।यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाइ छ।
समानुपातिकतर्फको करिब दुई करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ ।
