१३ माघ,काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उनले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए ।
महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देश पनि गरे । कमजोर कमान्ड र गल्ती गर्ने कमान्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उहाँले उच्च मनोबलका साथ काम गर्न सबैलाई आग्रह गरेका छन् ।
कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधिकृतलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा रहँदा बदमासी गरेमा तत्कालै कारबाही गरिने उनको भनाइ छ । निर्वाचन सफल बनाउन मातहत कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गरी परिचालित हुन पनि उनले निर्देशन दिएका छन् ।
