Wednesday, June 3

निर्वाचन आचारसंहिताका कारण फागुनको बृहत स्वास्थ्य शिविर चैतमा सारियो

–रामधन राई
खोटाङ, १५ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण खोटाङको दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आउँदो फागुन–८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत् स्वास्थ्य शिविर निर्वाचन आचारसंहिताका कारण चैत पहिलो हप्ताका लागि सारेको हो ।

आगामी फागुन–२१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अचारसंहितालाई ध्यानमा राख्दै शिविरको मिति सार्नु परेको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “बृहत स्वास्थ्य शिविरको लागि आवश्यक तयारी सुरु गरेका थियौँ । निर्वाचन आचारसंहिता लागू भएकाले ओम अस्पतालका चिकित्सक तथा सरोकारवालासँगको छलफलपछि शिविरको मिति सारिएको हो”, उहाँले भन्नुभयो, “नेपाल सरकारले तोकेको निर्वाचन सफल बनाउन हामी सबैको उत्तिकै दायित्व छ । निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको शिविर चैत पहिलो हप्ता गर्ने सहमति भएको छ ।”

नगरपालिकाले नागरिकको स्वास्थ्य समस्यालाई प्राथमिकताामा राख्दै ओम अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क शिविरको आयोजना गरेको थियो । शिविरमा मानसिक रोग, जनरल फिजिसियन, मुटु, मिर्गौला, स्त्रीरोग, दाँत, नसा, छाला तथा हाडजोर्नी सम्बन्धी सेवा, इसिजी, एक्स–रे, भिडियो एक्स–रे, ल्याब टेस्ट र निःशुल्क औषधिसमेत वितरण गर्ने तयारी गरिएको थियो ।

दिक्तेल बजारस्थित जिल्ला आयुर्वेद अस्पतालमा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविर सम्बन्धी सहमतिपत्रमा नगर प्रमुख भट्टराई र ओम हस्पिटलका सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठ र सञ्चालक टंक श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । दुई दिने स्वास्थ्य शिविरमा अस्पतालबाट वरिष्ठ विशेषज्ञ डा. आनन्दप्रसाद श्रेष्ठसहितका स्वास्थ्यकर्मी आउने सहमति भएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरु आफ्नो पक्षमा जित सुश्चित गर्नका लागि मतदाता रिझाउन जनताको घरदैलो अभियानमा जुटेका छन् ।

निर्वाचन आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन गर्न दुई जना अनुगमन अधिकृत समेत तोकिएको छ । उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे÷नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु आ–आफ्नै एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् ।

आगामी निर्वाचनका १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आउँदो निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।