Friday, June 5

दिक्तेल–तराई छोटो दूरीको सडक अन्तिम चरणमा

फागुन–२३,  खोटाङको दिक्तेलबजार र तराई जोड्ने सबैभन्दा छोटो सडक निर्माण कार्य सकिन लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित आहालेदेखि रेग्मीटारसम्मको १४ दशमलब ५ किलोमिटर सडक निर्माण कार्य अन्तिममा पुगेको हो ।

यसै आर्थिक वर्ष सक्ने गरी धमाधम काम भइरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । सदरमुकाम दिक्तेलदेखि तराई जोड्ने सबैभन्दा छोटो सडक भएकाले यसलाई प्राथमिकतामा राखिएको नगरप्रमुख भट्टराईको भनाई छ । आहालेदेखि रेग्मीटारसम्म निर्माण सकिएपछि उक्त सडक सगरमाथा लोकमार्गसँग जोडिन्छ । सडक बनेपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने वाध्यताको अन्त्य हुने नगरप्रमुख भट्टराईले जनाउनुभयो ।

निर्माण हुन करिब पाँच सय मिटर मात्र बाँकी रहेको सडक एक महिनामै सम्पन्न हुने नगरपालिकाका प्रमुख इन्जिनियर रामहृदय पटेलको भनाई छ । उक्त सडकमा नगरपालिकाको ८५ लाख खर्च भइसकेको नगरपालिकाका लेखा अधिकृत राजकुमार राईले बताउनुभएको छ । यस बाहेक आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकारको ४० लाख बजेटमध्ये करिब १५ लाख रूपैयाँ पनि यसै सडकमा खर्च भएको नगरपालिकाले उल्लेख गरेको छ । राईका अनुसार आर्थिक वर्ष २०७९/८० मा विनियोजित करिब ४० लाख र २०८०/८१ मा विनियोजित करिब २० लाख रूपैयाँ खर्च भएको छ । गत वर्ष खर्च गरेर बाँकी रहेको बजेट यो वर्ष खर्च गरिने समेत जनाईएको छ ।
ट्र्याक खोलिसकेपछि अर्को वर्षबाट सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिईने नगरप्रमुख भट्टराईले सुनाउनुभयो ।।