Friday, June 5

बाँसुरीको धुनसँगै झुमेको खोटाङ

खोटाङ, २० माघ । माघ महिनाको मध्येतिर धुम्मिएको दिन । बिहानको करिब ११ बजेदेखि गुञ्जनु शुरु भएको बाँसुरीको धुन गहिरो ठण्डी (ठिही) बढेको साँझ करिब आठ बजेसम्म अटुट रह्यो । बाँसुरीको धुनमा मिसिएका तबला, सारांगी, मादल लगायतका ताल र धुनहरु सुनमा सुगन्ध बनेका थिए ।

मुख्य आकर्षण थिए चर्चित बाँसुरी बाद्यक नरेन्द्रबिक्रम राई । नरेन्द्र लगायत नेपालका बिभिन्न जिल्लाबाट आएका बाँसुरी बाद्यकका धुनमा मन मिसाउन खोटाङका उल्लेख्य संगीतप्रेमीको भीड लागेका थिए । ख।ेटाङको दिक्तेलबजारस्थित सरस्वती माबिमा गुञ्जिएका फरक–फरक स्केलका बाँसुरी र त्यसबाट सिर्जित धुनहरुले जिल्लाबासीको जाडो छलिरहेका थिए ।

सन्दर्भ, प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्व सन्ध्यामा खुला बाँसुरी बाद्यन तथा स्कुल स्तरीय गायन÷बाद्यन प्रतियोगिता–२०८१ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हालै आयोजना गरेको उक्त कार्यक्रममा नेपालका चर्चित बाँसुरी बाद्यक नरेन्द्र राईको बिशेष प्रस्तुति रहेको थियो । नरेन्द्र आफैले सिर्जना गरेका लोक भाका तथा अन्य धुनहरु र नेपाली संगीतबजारमा चलेका दर्जनौ धुनहरु प्रस्तुत गर्नुभएको थियो ।


उद्घाटन तथा समापनमा बिशेष एकल प्रस्तुति दिनुभएका राईको कलाले दर्शकका मन जितेका थिए । जिल्लामा बाँसुरीको ऐतिहासिक प्रस्तुति रहेको सरस्वति माबिका शिक्षक तथा गीत/संगीत पारखी नुरकाजी सैंजुको प्रतिक्रिया छ । केही बर्ष अघि पनि नरेन्द्रको हलेसीबजारमा एक बिशेष प्रस्तुतिको आयोजना गरिएको थियो । यद्यपी, यो बर्ष बिभिन्न जिल्लाका प्रतियोगीहरुको कलाले थप रौनकता दिएको जनाईएको छ ।

बाँसुरी बादन तथा विद्यालयस्तरीय गायन प्रतियोगिताको माध्यमबाट बाँसको उपयोगिताका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । १३ जना बादक सम्मिलित खुला बाँसुरी बाद्यन प्रतियोगिताको उपाधि भने हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कैलाश राईले जित्नुभएको छ । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लक्ष्मण राई दोस्रो र सिन्धुपाल्चोक मेलम्चीका संगीत लामा तेस्रो हुनुभएको छ । धादिङ, काठमाण्डौं लगायत बिभिन्न जिल्लाबाट आएका बाँसुरी बाद्यकहरुले सहभागिता जनाएको प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कविन्द्र राई चौथो हुनुभएको छ ।
विजयी प्रतियोगीहरुले क्रमशः नगद दश हजार, सात हजार, पाँच हजार र तीन हजार रुपेैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

बाँसुरी बाद्यन प्रतियोगिताकै अवसरमा विद्यालयस्तरीय गायन÷बादन प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । नगरभित्रका बिद्यालय स्तरीय सामुहिक गायन तथा बाद्यन प्रतियोगितातर्फ जालपा मावि जालपा प्रथम बनेको छ । यस्तै, ज्योति मावि जालपा दोस्रो, सरस्वती मावि दिक्तेल तेस्रो र दिक्तेल अङ्ग्रेजी आवासीय विद्यालय चौथो भएको नगरपालिकाका शिक्षा शाखा कर्मचारी सुवासचन्द्र राईले जनाउनुभयो । गायन प्रतियोगिताका विजयी विद्यालयहरुले क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार र पाँच हजार रुपैंयाँको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा नौँ विद्यालय सहभागी थिए । प्रतियोगितामा सहभागी जालपा मावि नुनथलाले नगद तीन हजार र जगदम्बा मावि बुइपाले दुई हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, सामुहिक गायनका लागि रचनातर्फ जगदम्बा मावि बुइपाका शिक्षक राजनकुमार बास्तोला उत्कृष्ट बन्नुभएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अनिलकुमार राईको संगीत उत्कृष्ट भएको जनाइएको छ । उत्कृष्ट रचनाकार र सँगीतकार दुवै जनाले नगद पाँच÷पाँच हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

विद्यालयस्तरीय गायन प्रतियोगितामा केशव कार्की, नरेन्द्र निर्विकार, नवीन राई ‘सङ्घर्ष’, नगेन्द्र बिक्रम राई र भलाकाजी राईले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगिताका विजयी बाँसुरी बादक तथा विद्यालयहरुलाई नगरप्रमुख तीर्थराज भट्टराईले पुरस्कार वितरण गर्नुभएको छ ।

नगरपालिकाले आगामी फागुन–१५ गतेदेखि १७ गतेसम्म दिक्तेलमा गर्न लागेको प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्वसन्ध्यामा बाँसुरी बादन तथा विद्यालयस्तरीय गायन प्रतियोगिता आयोजना गरेको हो । नेपालमा खेर गइरहेका बाँसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गर्न लागिएको नगर प्रमुख भट्टराईले बताउनुभयो । सम्मेलनमा बाँस सम्बन्धी अध्ययन गर्ने तथा व्यापार÷व्यवसाय सञ्चालन गरिरहेका विभिन्न देशका नागरिकको समेत सहभागिता रहनेछ ।।