पार्टी प्रवेश गरेको १९ दिन नबित्दै रास्वपाले दियो रुद्र गिरीलाई खोटाङको टिकट
खोटाङ, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खोटाङमा रुद्र गिरीलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको टिकट दिएको छ । नेपाली काँग्रेस खोटाङको महाधिवेशन प्रतिनिधिको पद परित्याग गरेर रास्वपा प्रवेश गर्नुभएका गिरीलाई पार्टीले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फको टिकटका लागि जिल्लाबाट तीन जना नेताको नाम सिफारिस गरिएकामा केन्द्रीय समितिले गिरीलाई टिकट दिएको रास्वपा खोटाङका जिल्ला सभापति मुकुन्दकृष्ण थापाले जानकारी दिनुभएको छ । रास्वपा खोटाङले प्रतिनिधिसभा सदस्यका लागि गिरीसहित जीवन कान्छा किराती र रविन्द्र ओझाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका निवासी रास्वपाका उम्मेदवार गिरी गत पुस–१५ गते पार्टी केन्द्रीय कार्यालय गएर रास्वपा प्रवेश गर्नुभएको थियो ...

