२२ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
नेपाल टेलिकमको २२औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्, भूकम्प तथा महामारीजस्ता सङ्कटका समयमा नेपाल टेलिकमले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
सेवा विस्तारसँगै डिजिटल सेवा,डिजिटल साक्षरता र समग्र देश विकासमा नेपाल टेलिकमले उल्लेखनीय योगदान पुर्याएको उनको भनाइ छ ।
“नविनतम प्रविधिको आधारमा गुणस्तरीय सेवा प्रवाह गर्नु समयको आवश्यकता भएको छ,” उनले भने,“नयाँ–नयाँ प्रविधिमा आधारित सेवाको विकास गर्दै सार्वजनिक दायित्व र नवप्रवर्तनलाई सन्तुलनमा राखेर गुणस्तरीय सेवा उपलब्ध गराउनु सेवाग्राहीको हक र अधिकार हो ।”
सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकासको आधारस्तम्भ भएकाले यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उनको धारणा छ ।
सार्वजनिक संस्था नागरिक र सरकार जोड्ने सेतु भएको उल्लेख गर्दै उनले नागरिक–सरकार सम्बन्धलाई प्रगाढ बनाउन नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।
गृहमन्त्री अर्यालले नेपाल टेलिकमको सुदृढीकरण र विकासमा सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
