खोटाङ, २७ कातिक । साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना गरिएको छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तरगत बुधबार गाउँपालिका प्रमुख रविप्रकाश राईले औपचारिकरुपमा मेसिन सञ्चालन गरेर उद्योग स्थापनाको घोषणा गर्नुभएको हो ।
स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै रोजगारी सृजना र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो उद्योग गाउँपालिकाको आर्थिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । उद्योग स्थापना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले लघुउद्यम र उद्योगहरूले युवालाई स्वदेशमै रोजगार दिने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बाँसकला उद्योगले गाउँपालिकाको पहिचान र आर्थिक प्रगतिमा टेवा पु¥याउने उल्लेख गर्नुहुँदै यस उद्योगबाट स्थानीय युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी बाँसका विविध उपयोगका सामग्री उत्पादन र बजार विस्तारमा सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो । “नमूना सामग्री तयार गरेर त्यसलाई अन्यत्र बजारीकरण गर्न सकियो भने आम्दानीको स्रोत बन्न सक्छ । यसका लागि नागरिक आफैँ सिर्जनशील बन्नुपर्छ, किनभने सिर्जनात्मकताको जग बसाउन सकेमात्र परिवर्तन सम्भव हुन्छ ।” उहाँले भन्नुभयो, “सिर्जनालाई विश्वासमा रूपान्तरण गर्न सक्ने व्यक्ति वा समुदायले आफ्नो जीवनस्तरलाई माथि उठाउन सक्छ । यस्तो पेशामा आवद्ध हुन बाध्यताले होइन, भित्री चाहना र रहर जगाएर लाग्नुपर्छ । रहरले गरिएको कामले मात्र स्थायित्व र समृद्धि ल्याउँछ ।”
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको उद्योग स्थापना कार्यक्रममा वडा नम्बर–२ रतन्छाका वडाध्यक्ष जितेन्द्रकुमार राई, वडा नं. ३ का वडाध्यक्ष गोविन्द तामाङ, इलाका प्रहरी कार्यालय मात्तिम बिर्ताका प्रमुख प्रहरी नायब निरीषक फाईदलसिं लिम्बु, गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङ राई लगायत जनप्रतिनिधि र लघुउद्यमसँग सम्बन्धित स्थानीयको सहभागिता रहेको थियो । उद्योग स्थापनाका लागि गाउँपालिकाले गत आर्थिक वर्ष सबै वडाका उद्यमीहरुलाई सहभागी गराएर बाँसकला सम्बन्धि तालिमसमेत सञ्चालन गरेको थियो ।
दक्ष प्रशिक्षक झिकाएर सञ्चालन गरिएको तालिममा सहभागी उद्यमीहरुबाट उद्योग सञ्चालन गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । कोशी प्रदेश सरकार, कृषि उद्योग मन्त्रालयको बहुवर्षे योजना अन्तरगत स्थापना गरिएको उद्योगका लागि यस वर्ष रु दश लाख रकम उपलब्ध रहेको गाउँपालिकाका लेखा शाखा प्रमुख उत्तम आचार्यले जानकारी दिनुभएको छ ।
