–रामधन राई
खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित एक गाउँमा एक घर मात्र बाँकी रहेको छ । खार्मीको तुर्खास्थित नेवार गाउँबाट सबै बसरी अन्यत्र गएपछि एक घर मात्र बाँकी रहेको हो ।
भारत, दक्षिण कोरिया लगायतका वैदेशिक रोजगारी तथा काठमाडौँ र तराईका जिल्लाहरुमा बसाइँ सरेरजाँदा दश घर परिवार रहेको नेवार गाउँ एक घरमा सीमित भएको पाइएको छ । १०–१५ वर्षको अवधिमा बसाइँ सरी जानेहरुको कारण नेवारगाउँ अर्थात् तुर्खाको नेवार टोल नै रित्तिएको स्थानीय बमबहादुर श्रेष्ठले बताउनुभयो ।
नेवार समुदाय मात्र बसोवास गर्दै आएका उक्त टोलका कतिपय घरहरु भत्किसकेका छन् भने तितेपातीघारीले ढाकिएका छन् । नेवार टोल जस्तै खार्मीका अधिकांश घरहरु रित्तो तथा झाडीभित्र पुरिएका छन् ।
तुर्खाकै साब्रुले टोल समेत रित्तो बनेको छ । चार घरपरिवार रहेको उक्त टोल हाल शून्य बनेको स्थानीय बताएका छन् ।
नेवार टोल, साब्रुले टोल समेत गरी ६० घर रहेको तुर्खामा हाल ३० मात्र बाँकी रहेका छन् । १५–२० वर्षको अवधिमा आधा अर्थात् ३० घर रित्तिएको स्थानीय जेष्ठ नागरिक रामबहादुर राईले बताउनुभयो ।
यस्तै, २२ घरपरिवार रहेको खार्मीकै कुम्देलमा समेत आधाभन्दा बढी घरपरिवार बसाइँ सरी गएको कालिका माध्यमिक विद्यालय खार्मीका शिक्षक धनचन्द्र राईले जनाउनुभयो । शिक्षक राईका अनुसार बसाइँसराइँका कारण गाउँ रित्तिदै गएपछि बाँकी रहेका स्थानीयवासीले असुरक्षित महशुष गर्दै आएका छन ।
हाल गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव भएको स्थानीय बताउँछन् । बसाइँसराइँका कारण खार्मीका चारवटा बिद्यालय बन्द भएको छ । विद्यार्थी सङ्ख्या अभावका कारण सञ्चालन भइरहेको विद्यालयहरु बन्द भएका हुन् ।
एक प्रावि र दुई बालविकास केन्द्र मर्ज भएको छ भने एक संस्थागत विद्यालय बन्द भएको पाइएको छ । रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका सुविधा उपभोगका लागि जिल्लाबाट बसाइँ सरी जानेको सङ्ख्या बर्षेनी बढिरहेको तथ्याङ्कले देखाएको छ ।
