Thursday, June 4

पर्यटन प्रवद्र्धनको पर्खाइमा होङ्मा पोखरी

खोटाङ, ११ असार । वरिपरी हुर्कँदै गरेका विभिन्न प्रजातिका फलफूलका बिरुवा (गुराँस, चिमाल, इन्द्रकमल तथा अनार, नास्पाती, स्याउ आदि) । सौन्दर्यकरणका लागि बगैँचा बनाउने उद्देश्यले रोपिएका फलफूलका बीचमा बाह्रै महिना उत्तिकै मात्रामा पानी जम्ने पोखरी । पोखरीभरि पानी नै रातो हुनेगरी हुलका हुल डुलिरहेका राता माछा ।

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित करिब एक हजार ५०० मिटर उचाइमा रहेको यो पोखरीको नाम हो होङ्मा पोखरी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा अवस्थित होङ्मा पोखरी पर्यटन प्रवद्र्धनको पर्खाइ छ ।

पौराणिक धार्मिक ग्रन्थ हिमवतखण्डको पुराण र किरात मिथकमा समेत उल्लेख भएको यो होङ्मा पोखरीको संरक्षणका लागि वडा कार्यालय चिसापानीले रु दश लाख, कोशी प्रदेश सरकारले चार वर्षअघि रु दश लाख र दुई वर्षअघि रु पाँच लाख बजेट विनियोजन गरेर स्तरोन्नतिको काम गरिएको छ । वडा कार्यालय र प्रदेश सरकारबाट विनियोजन गरिएको यो रकमले पोखरीको तल्लोभागमा सिकारी थाननेर तारजालीसहित ढुङ्गाको बाँध बाँधिएको छ भने, पोखरी वरिपरी तारजालीको घेराबार, विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने तथा सरसफाइको काम गरिएको छ ।

करिब १२ रोपनी क्षेत्रफल सरकारी जमिनमा फैलिएको यो होङ्मा पोखरी हिन्दु र किरात धर्मावलम्बीको आस्थाको केन्द्रको रूपमा परिचित रहेको स्थानीय विज्ञान राईले बताउनुभएको छ । चारैतिर हरियाली डाँडापाखा रहेको यो ऐतिहासिकस्थल होङ्मा पोखरी नजिककैबाट अर्को पर्यटकीयस्थल भञ्ज्याङखर्क हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ग्रामीण सडक निर्माण गरिएको छ ।

आर्थिक वर्ष २०७९÷८० देखि सङ्घ र प्रदेशबाट समपुरक, समानीकरण, विशेषबाहेकका अन्य कुनै पनि ठाउँबाट बजेट उपलब्ध नहुँदा स्तरोन्नतिमा समस्या भएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले बताउनुभएको छ । “आवश्यक बजेट उपलब्ध नहुँदा होङ्मा पोखरीको पर्यटन प्रवद्र्धन गर्न सकिएको छैन । वर्षायाममा पोखरीमा भएको पानी धमिलो हुन्छ । यसले यहाँ पाइने रातो माछा लोप हुने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “स्थानीय तहको स्रोतले यसको संरक्षण तथा प्रवद्र्धनको काम गर्न सकिँदैन । सम्बन्धित मन्त्रालय (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)मा आवश्यक बजेट उपलब्ध गराइ दिन माग गरिए पनि अहिलेसम्म सम्बोधन भएको छैन ।”

पौराणिक ग्रन्थ हिमवत्खण्डको पुराणमा छोरी भानुमतीलाई भेट्न आउँदा विष्णुले बराहपोखरीमा नुहाएको भन्ने उल्लेख छ । होङ्मा पोखरी र बराहापोखरीबीचको धार्मिक सम्बन्धसमेत भएकाले होङ्मा पोखरीलाई प्रवद्र्धनको काम शुरु गरिएको उपप्रमुख खड्काले बताउनुभएको छ ।

होङ्मा पोखरीमा बालाचतुर्दशीको अवसर पारेर बराहपोखरीमा लाग्ने मेलाको भोलिपल्ट ठूलो मेला लाग्ने गरेको स्थानीयले बताएका छन् । प्राकृतिरुपमा बनेको यो पोखरीलाई स्थानीय तह कार्यान्वयनमा आएपछि संरक्षण तथा प्रवद्र्धनको काम शुरु गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यसमेत वृद्धि हुँदै गएको छ ।

सिकारी युगमा यो पोखरीमा पानी खान आउँने जीवजन्तुलाई स्थानीय किरात समुदायले ढुकेर÷पर्खेर सिकार गर्ने चलन रहेकाले यसलाई होङ्मा पोखरी भन्ने गरिएको स्थानीय वीरबल किरातीले बताउनुभएको छ । “किरात राई बान्तवा भाषामा होङ्मा भनेको ढुक्नु÷पर्खनु भन्ने गरिन्छ । सिकारी युगमा यो पोखरीमा पानी खान आउँने जीवजन्तुलाई स्थानीय किरात समुदायले ढुकेर÷पर्खेर सिकार गर्ने चलन भएकाले होङ्मा पोखरी भनिएको हो” उहाँले भन्नुभयो, “पोखरीको दक्षिणी भेगमा होङ्मा थान छ । यहाँ हरेक वर्षको वैशाखे पूर्णिमामा पूजा आराधना गरिन्छ ।”

पोखरीसँगै रहेको होङ्मा थानमा पूजा आराधना गरेमा मानव तथा जीवजन्तुलाई सुव्यफाव्य हुने जनविश्वास रहिआएको छ । होङ्मा पोखरीमा परापूर्वकालमा बुढापाकाहरु भेला भएर दुःखसुखका कुरा साटासाट गर्ने प्रचलनसमेत रहेको जनाइएको छ ।

धार्मिक तथा पर्यटकीयस्थल होङ्मा पोखरीप्रति स्थानीयमा रहेको जनविश्वासलाई सम्बोधन गर्न गाउँपालिकाको तर्फबाट संरक्षण तथा प्रवद्र्धनको काम शुरु गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले बताउनुभएको छ । “होङ्मा पोखरी ऐतिहासिक पोखरी हो । यसको संरक्षण तथा पर्वद्धनमा लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “किरात मिथकमा समेत उल्लेख भएको यो होङ्मा पोखरीलाई स्तरोन्नति गर्दै संरक्षण तथा प्रवद्र्धन गरेर गाउँपालिकाको पर्यटकीय गन्तव्य बनाउने योजना छ ।”

होङ्मा पोखरीको स्तरोन्नति तथा सौन्दर्यकरणका लागि निजी क्षेत्रलाई समेत लगानीमा खुला गरिएको गाउँपालिकाले जनाएको छ । निजी क्षेत्रका लागि गाउँपालिकाको तर्फबाट नीति बनाएर एउटै किसिमको फलैँचा निर्माण तथा फलफूलका बिरुवा रोप्ने वातावरण सिर्जना गरिएको गाउँपालिका प्रमुख दिक्षाले जानकारी दिनुभएको छ ।

होङ्मा पोखरीमा वैशाख पूर्णीमादेखि गुरु पूर्णिमासम्म हिन्दु धर्मावलम्बीले परेवा र बाख्राको पाठी तथा किरात समुदायले कुखुराको भालेको बलि दिएर पूजा–आराधना गर्ने परम्परा रहिआएको छ । हिन्दु र किरात धर्मावलम्बीको सङ्गमस्थल होङ्मा पोखरीसम्म पुग्नका लागि स्थानीय सरकारको लगानीमा सडक मार्गसमेत निर्माण गरेर सञ्चालनमा ल्याएकाले आवतजावतमा सहज भएको छ ।