Thursday, June 4

रावाबेँसी बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका

खोटाङ, १८ वैशाख । रावाबेँसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि रावाबेँसी गाउँपालिकालाई मङ्गलबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

छ वडा रहेको रावाबेँसी गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइएको छ । नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाइजर सुरेन्द्र बुढाथोकीले खोप कार्यक्रमहरुको सूचकहरु उत्कृष्ट रहेको र आगामी दिनमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोप सेवालाई गुणस्तरीय बनाउन खोप केन्द्र भवन निर्माण, नियमित अनुगमन लगायत आवश्यक रहेको बताउनुभएको छ । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमका अवसरमा खोप अभियानमा खटिने स्वास्थ्यकर्मी र महिला स्वयम्सेविकाहरुलाई सम्मानसमेत गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा चालू आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने यो रावाबेँसी गाउँपालिका जिल्लाकै पहिलो भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि जिल्लाका सबै स्थानीय तहले तयारी गरिरहेका छन् ।

जन्तेढुङ्गा, खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकाले पूर्ण खोप सुनिनिश्चतता तथा दिगोपना वडा घोषणा गरेर गाउँपालिका घोषणाका लागि पत्र पठाएको जनाइएको छ । आगामी जेठ–१५ गतेभित्र जिल्ला घोषणा गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।