Thursday, June 4

ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा

खोटाङ, २० चैत । ऐसेलुखर्क गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारको लगानीमा वडा नं. ३ ऐसेलुखर्क बजारमा निर्माण शुरु गरिएको पालिकास्तरीय १५ शय्याको अस्पतालको काम अन्तिम चरणमा पुगेको हो ।

अपाङ्गमैत्री भौतिक संरचनासहित निर्माणाधीन सुविधा सम्पन्न अस्पताल भवन निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनी तुवाचुङ कन्ट्रक्शन प्रा.लि.का प्रबन्ध÷निर्देशक सुनिल राईले जानकारी दिनुभएको छ । भ्याटसहित रु १९ करोड ३० लाख ४४ हजार ३०० लागतमा निर्माणाधीन अस्पताल भवन यही महिना दिनभित्र गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी रङरोगनको काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।

लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुग्दा स्थानीयवासीन्दा हर्षित भएका छन् । निर्माण सम्पन्न हुनै लागेको अस्पताल भवनको भुइँतलामा इमरजेन्सी ल्याब र ऐक्सरे सेवा, पहिलो तलामा शल्यक्रिया र ओपीडी सेवा, दोस्रो तलामा वार्ड र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ रहेको छ ।

वि.सं. २०७९ साल साउन–२६ गते सम्झौता गरिएको अस्पताल भवनको काम गत वि.सं. २०८० माघ–२३ गते सम्पन्न गर्नेगरी श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल भवन निर्माणको जिम्मा लिएको छ । प्रत्येक तलामा सर्वसाधारण, सेवाग्राही र कर्मचारीका लागि महिला÷पुरुष छुट्टाछुट्टै शौचालय निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरुपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम तलासम्म नै ह्वील चियर गुडाउन मिल्नेगरी भौतिक संरचना निर्माण गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभएको छ । “निर्माणधीन अस्पताल भवनको काम गुणस्तरीय भएको छ । तोकिएकै समयमा निर्माणको काम पनि सम्पन्न हुने देखिएको छ”, उहाँले भन्नुभयो, “ऐसेलुखर्क बजार उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख बजार हो । यहाँ सुविधा सम्पन्न अस्पताल नहुँदा धेरै मानिसले दुःख पाएका छन् । अब त्यो समस्या हल हुन्छ ।”

प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कको भवन नजिकै निर्माणाधीन अस्पताल वि.सं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ शय्याका ३०९ वटा अस्पताल शिलान्यास गर्दा खोटाङमा ऐसेलुखर्कसँगै हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी, साकेला र जन्तेढुंगा गाउँपालिकामा अस्पताल निर्माणको योजना परेको थियो ।

निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनका लागि स्थानीय पर्शुराज भण्डारीले रु ३० लाख बराबरको सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ३ ऐसेलुखर्क का वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । ऐसेलुखर्क बजारमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि उत्तरी क्षेत्रका स्थानीयवासीका साथै छिमेकी जिल्ला सोलुखुम्बुका बासिन्दालाई समेत सहज हुने गाउँपालिकाले जनाएको छ ।

उता, जिल्लाका अन्य स्थानीय तहमा निर्माणाधीन पालिकास्तरीय भवनमध्ये केहीमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् भने, केहीमा अलपत्र अवस्थामा छन् । साकेला गाउँपालिकामा निर्माण गरिएको पाँच शय्याको अस्पताल भवन यसअघि नै सम्पन्न गरेर सञ्चालनमा ल्याइसकिएको छ ।