खोटाङ ७ फागुन । नेपाल बैङ्क लिमिटेड कोशी प्रादेशिक कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङलाई ट्राफिक सामग्री प्रदान गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित बैङ्कले दिक्तेल शाखा कार्यालयमार्फत रु ७५ हजार बराबरको ट्राफिक सामग्री ट्राफिक प्रहरीलाई प्रदान गरेको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा मुख्य नाकाहरुमा राख्नेगरी दश थान गति सिमित बोर्ड, आठ थान सडक डिभाइडर र पाँच थान नो पार्किङ बोर्ड लगायतका सामग्री प्रदान गरिएको शाखा कार्यालय दिक्तेलका प्रमुख रामभुषण सिंहले जानकारी दिनुभयो । बैङ्कले उपलब्ध गराएको ट्राफिक सामग्री नेपाल बैङ्क लिमिटेड कोशी प्रादेशिक कार्यालयका प्रमुख सुर्यप्रकाश भट्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख ज्ञानेन्द्र कार्कीलाई हस्तान्तरण गर्नुभएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्न बैङ्कले गरेको यो सहयोग जिल्लाका लागि पहिलो भएको ट्राफिक प्रहरीले जनाएको छ । नेपाल बैङ्क लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत देशैभरी सहयोग गर्दै आएको बैङ्कका कोशी प्रादेशिक कार्यालय प्रमुख भट्टले जानकारी दिनुभएको छ ।
