Wednesday, June 3

फोक्सिङटारमा बेलिब्रिज राख्न मन्त्रीको निर्देशन

खोटाङ, १८ असोज । कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा तत्काल बेलिब्रिज राख्न निर्देशन दिएका छन् । असोज १२ गते सुनकोसीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएपछि स्थलगत निरिक्षणपछि मन्त्री राईले सो स्थानमा तत्काल बेलिब्रिज राख्न गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरलाई निर्देशन दिएका हुन् ।

सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अवरुद्ध भएको छ । पुल नहुँदा खोटाङ र तराईसँगको छोटो यातायाता सम्वन्ध टुटेको छ । पुल बगेसँगै रसुवाघाटको झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने वाध्यता दोहोरिएको छ । निरिक्षणमा असोज १७ गते फोक्सिङटार पुगेका मन्त्री राईले पानीको वहाव घटेसँगै बेलिब्रिज राख्नेगरि प्रकृया थाल्न निर्देशन दिएका हुन् ।

मन्त्री राईले बेलिब्रिज नराखेसम्मका लागि उदयपुरतर्फ फोक्सिङटारबाट रसुवाघाटसम्मको सडक मर्मत गर्न निर्देशन दिएका छन् । मन्त्रीको निर्देशन कार्यान्वयन भए असोज १९ गतेसम्ममा फोक्सिङटारदेखि रसुवाघाटसम्मको सडक मर्मत हुनेछन् ।

उदयपुरतर्फबाट रसुवाघाट तरेपछि खोटाङतर्फ दिक्तेल–गाईघाट सडकमार्फत यात्रा गर्न सकिन्छ । मन्त्री राईका अनुसार रसुवाघाटको झोलुंगेल पुलसम्म पुग्ने सडक सरसफाई सँगै गाईघाट–दिक्तेल सगरमाथा राजमार्गको पहिरो पन्छाएर सुचारु गराउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र जिल्ला प्रशासन कार्यालय उदयपुरलाई निर्देशन दिइएको छ ।

फोक्सिङटारको पुल गौरी पार्वती वाईपी जेभीले निर्माण गरेको हो । क्षतीग्रस्त बनेको पुल स्वयं निर्माण कम्पनीलाई निर्माण गर्न लगाउने पहल थालिएको मन्त्री राईले बताए ।